१२ असार २०८१, बुधबार

प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदसँग छलफल


pradesh n 3

४ पुस, भरतपुर । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ ।

प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “यसै वर्ष प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्छाैँ”, उहाँले भन्नुभयो, “सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्छौँ ।”

प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा पु¥याएको भन्दै मन्त्री लामाले अब तीव्र रुपमा विकास निर्माणका काम हुने बताउनुभयो । उहाँले प्रदर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउनसमेत सुझाब दिनुभयो । प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीले बताउनुभयो । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण थालिएको हो ।

अध्यक्ष दुवाडीले भन्नुभयो, “निर्माण सम्पन्न गर्दासम्म रु ४२ करोडभन्दा बढी खर्च हुने देखिन्छ”, प्रदेश नं ३ को महत्वपूर्ण योजनाका रूपमा रहेकाले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको दुवाडीले बताउनुभयो । छलफलमा सहभागी प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पु¥याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको बताए । छलफलमा सांसद विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, कञ्चन खनाल, पार्वती सिलवाल, रीना गुरुङलगायतले आफ्नो धारणा राख्नुभएको थियो । करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडमा उपलब्ध गराएको हो । आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

चौध सीसी क्यामरा मात्रै सञ्चालनमा

सुरक्षाको लागि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा छन् । अपराध अनुसन्धान र नियन्त्रणका लागि जडान गरिएका अधिकांश क्यामरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिग्रेका क्यामरा मर्मत गरिँदैछ । उहाँले जिल्लामा ९९ सीसी क्यामरा जडान गरिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र ३२ सीसी क्यामरा रहेकामा २६ मात्र सञ्चालनमा छन् । भरतपुर महानगरपालिकाको पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठीलगायतक क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ । टिकौली जङ्गलमा गोन्द्राङस्थित एउटा सीसी क्यामराले मात्रै काम गरेको शाहले बताउनुभयो । अँध्यारोमा समेत दृश्य कैद गर्ने सीसी क्यामरा जडानको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा सात स्थानीय तह छन् । “स्थानीय तहका प्रमुखसँगको छलफलमा राजमार्गको मुख्यमुख्य केन्द्रमा सीसी क्यामरा जडान गर्ने कुरा भइरहेको छ, उहाँले भन्नुभयो ।

निजी क्षेत्र, महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जडान गरिएका सीसी क्यामरा मर्मतको खर्च महानगरले व्यहोर्ने गरी काम भइरहेको छ । अपराध अनुसन्धान र न्यूनीकरण, सवारीसाधनका चालकले दुर्घटना गराएर भाग्ने, चोरी डकैती, झैझगडा, कुटपिटलगायत अपराध अनुसन्धान गर्न सीसी क्यामराबाट सहयोग पुग्ने शाहले बताउनुभयो । चोरी गर्न सीसी क्यामरा नै बिगार्ने गरेको घटना हुने गरेकाले निजी क्षेत्रले सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !