१५ आश्विन २०८१, मंगलबार

‘मिलेनियम ट्रेक’को पुनः जागरण प्रयास


tanahu

२८ मङ्सिर, पोखरा । पछिल्ला समयमा पदमार्गहरू छोटिने क्रम बढिरहेको अवस्थामा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ‘मिलेनियम ट्रेक’को पुनः जागरणको प्रयास सुरु भएको छ । मध्य पहाडी क्षेत्रको झण्डै ७२ किमी लम्बाइको यो पदमार्ग सन् २००० मा सुरु भए पनि यसबीचको समयमा राजनीतिक उतारचढाव आदिका कारण ओझेलमा पर्दै आएको थियो ।

नेपालमा मध्य पहाडी क्षेत्रमा पहिलो पदयात्रा मार्गका रूपमा रहेको यस पदमार्गको पर्याप्त सम्भावना रहे पनि अझै ओझेलमा परिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ४२० मिटरदेखि एक हजार ७१५ मिटरसम्म उचाइमा रहेको पदयात्र मार्गमा तनहँु र स्याङजाका साविक २२ गाविस पर्दछन् ।

पदयात्रा मार्गको विकासलाई लक्षित गरी उक्त क्षेत्रमा चारवटा रिसोर्ट बन्न लागेका छन् भने १३ वटा स्थानमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । यसैबीच पदयात्रा मार्गको पुनः जागरणको लक्ष्यका साथ आजदेखि सञ्चारकर्मी सहितको पदयात्रा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सहयोग एवम् मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा आयोजित कार्यक्रमको शुभारम्भमा द्वितीय उपाध्यक्ष थमनबहादुर आले, महासचिव हर्क गुरुङ, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका लेखा अधिकृत गोपाल भण्डारी, नेपाल उद्योग वाणिज्य सङ्घ दुलेगौँडा इकाइका अध्यक्ष राजकुमार वाग्ले, ढोर दरबार संरक्षण समितिका अध्यक्ष विक्रम खाँड ठकुरी लगायतले मिलेनियम ट्रेकको महत्व लगायतका विषयमा आ आफ्ना धारणा राख्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !