१५ मङ्सिर, काठमाडौँ । अक्टोबर क्रान्ति शतवार्षिकी समितिले क्रान्तिले एक शताब्दी काटिसकेको उपलक्ष्यमा आज आयोजना गरेको कार्यक्रममा विश्वका मजदूरलाई एक हुन आह्वान गरेको छ ।
सबै मजदूर एक भएर अघि बढे मात्र विश्वलाई उचाइमा लान सकिने समितिका संयोजक स्वनाम साथीले बताउनुभयो । “नेपालमा अझै पनि असमानता र विकृति उस्तै छ, धनीको दमनबाट श्रमिकलाई माथि ल्याउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । अक्टोबर क्रान्तिलाई स्मरण गर्दै उहाँले अहिले नेपालमा कम्युनिष्ट सरकारलाई साथ दिई अघि बढ्नुपर्ने औँल्याउनुभयो ।
आजभन्दा १०० वर्ष अगाडि १९१७ अक्टोबर २५ र नोभेम्बर ७ मा रुसको पेट्रोग्राद शहर (हालको सेन्ट पिटर्सवर्ग)मा गरिखाने जनताले शासकका विरुद्ध आन्दोलनको आँधी खडा गरेका थिए । जनक्रान्तिको त्यही आँधीले तत्कालीन राज्यसत्ताको अन्त्य गरी जनताको सत्ता स्थापना भएको थियो । त्यही क्रान्तिको नाम नै ‘अक्टोबर क्रान्ति’ हो ।
हिउँ, हुरी, अनिकाल, युद्ध र मृत्यु मडारिइरहेको निकै अप्ठ्यारो परिस्थितिमा सम्पन्न उक्त क्रान्तिको अगुवाइ कम्युनिष्टले गरेका भए पनि त्यो क्रान्तिको अग्रपङ्क्तिमा रुसमा क्रियाशील सोभियत, सोभियतमा आबद्ध किसान र मजदूर तथा रुसी सैनिकसमेत थिए ।
विश्वभर पहिलो पटक अक्टोबर क्रान्तिले नै शासित वर्गको राज्यसत्ता स्थापना गरेको थियो । त्यो क्रान्तिमा संसारका लागि रोटी, शान्ति र जमीन, जनताका लागि रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरेको थियो । फलस्वरूप रुसी जनता ‘युद्ध होइन, क्रान्ति, जनताविरुद्ध होइन, शोषणविरुद्ध हतियार’ भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयका रूपमा हेर्न लालायित भएका थिए । सर्वहारा वर्गको अधिनायकतन्त्रले आफ्नो पहिलो कामका रूपमा जग्गा जोत्नेको तथा महिला तथा तेस्रो लिङ्गीमाथिका सामन्ती पूँजीवादी हेपाइ–मिचाइ र रजाइँविरुद्ध कानून जारी गरेको थियो ।
समितिका सचिव शरद पौडेलले संसारलाई नयाँ बाटो देखाउने अक्टोबर क्रान्ति १०० वर्ष पुगेका अवसरमा त्यसप्रति सम्मान गर्दै नेपालका सचेत कम्युनिष्टले पनि अक्टोबर क्रान्ति शताब्दी उत्सव मनाइरहेको बताउनुभयो । गत वर्षदेखि समितिले विविध कार्यक्रम गर्दै अक्टोबर क्रान्तिको शतवार्षिकी मनाइरहेको छ । (रासस)