१२ असार २०८१, बुधबार

फलफूलमा प्राथमिकता


Nepalpatra

१४ मङ्सिर, बलेवा । फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूलखेतीलाई प्राथमिकता दिएको छ ।

नगरका अधिकांश वडामा विभिन्न खालका फलफूलको सम्भावना रहेकाले फलफूलखेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताउनुभयो ।

किसानलाई प्रोत्साहन गरी फलफूल उत्पादन बढाउनका लागि नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाका–१४ वडामध्ये अधिकांश वडामा सुन्तला, मेवा, लिचीलगायत फलफूलखेतीको सम्भावना रहेकाले त्यसको व्यावसायिक उत्पादनमा जोड दिन उक्त कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।

यो आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ । “उत्पादनमार्फत समृद्धिको बाटो खोजिएको हो, यसका लागि फलफूलखेती महत्वपूर्ण बन्न सक्छ”, अधिकृत कुँवरले भन्नुभयो, “केन्द्र सरकारले लिएको आर्थिक समृद्धिको कार्यक्रमलाई सघाउने यो हाम्रो सानो प्रयास हो ।”

उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने गरी बजेट व्यवस्थापन गरेर कार्यक्रम ल्याइएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । बागवानी विकास कार्यक्रमअन्तर्गत सुन्तला, कागती, आँप, लिची र मेवाका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थप रु आठ लाख छुट्याइएको छ ।

“किसानलाई तरकारी तथा फलफूलखेतीमा आकर्षित गरी उत्पादनमुखी बनाउनका लागि अनुदानमा बिरुवा वितरणको कार्यक्रम तय गरिएको छ,” उहाँले भन्नुभयो, “सामान्य घरायसी प्रयोजनका लागि मात्रै हामीकहाँ फलफूल खेती हुने गरेकामा व्यावसायिक उत्पादन गरेर अर्थोपार्जन हुने गरी कार्यक्रम ल्याइएको हो ।”

कार्यक्रममा किसानलाई सहभागी बनाउनका लागि नगरको आर्थिक विकास समितिले योजना बनाउने र सो योजनाका आधारमा समूह वा व्यक्तिलाई अनुदान उपलब्ध गराउने र फलफूलखेतीका लागि आवश्यक जैविक मलमा समेत सघाउने सोच अघि बढाइएको नगरप्रमुख पौडेलले बताउनुभो ।

जैविक मल उत्पादन, सीप विकास र प्रवद्र्धनका लागि रु छ लाख छुट्याइएको छ । कृषि तथा बागवानी विकास कार्यक्रममा रु ५५ लाख ५० हजार खर्च गर्न थालेको नगरपालिकाले झण्डै रु २४ लाख फलफूलखेतीमा खर्चने छ । बागलुङ बजारमा बिक्री वितरण हुने फलफूल सबै आयात हुने भएकाले यहाँ उत्पादन हुने फलफूलको बजारीकरणमा समस्या नहुने अधिकृत कुँबरले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !