७ मंसिर २०८१, शुक्रबार

उठ्दै छ शङ्खरापुर


Nepalpatra

१२ मङ्सिर, साँखु । भूकम्पले घर पूर्णरूपमा क्षति भएपछि साँखुका रामबहादुर श्रेष्ठ अहिले पनि भाडाको घरमा बस्दै आउनुभएको छ । चार जनाको परिवार रहेको उहाँ विगत चार वर्षदेखि कहिले जस्ताको टहरो त कहिले भाडाको घरमा बस्दै आउनुभएको हो ।

विसं २०७२ वैशाख १२को भूकम्पले घर पूर्णरूपमा ध्वस्त भएपछि लामो समयसम्म पुनःनिर्माण गर्न नसक्नुभएका उहाँ अहिले ऋण गरेर घरको तेस्रो तला ढलान गर्दै हुनुहुन्छ । भूकम्पप्रतिरोधात्मक घर निर्माणका लागि ठूलो खर्च लाग्ने भएकाले साँखुमा रहेको छ आना जग्गा बेचेर निर्माण शुरु गरेको रामबहादुरले बताउनुभयो ।

समयमै निर्माण सामाग्री नपाइएको, इँटा, सिमेन्ट, रड निकै महङ्गो भएको र नगरपालिकाको सिफारिशमा उपलब्ध हुने ५० क्युफिट काठ अहिलेसम्म नपाउँदा घर निर्माणमा ढिलाइ भएको गुनासो गर्दै उहाँले तेस्रो तलासम्म ढलान गर्दा मात्र रु ३० लाख लागेको अब निर्माण सम्पन्न गरिसक्दा अनुमानित रु ६५ लाख लाग्ने बताउनुभयो ।

शङ्खरापुरका कृष्ण श्रेष्ठले पनि रामबहादुरको जस्तै समस्या आफूले पनि भोगेको बताउनुभयो । “निकै समस्या र कष्टका साथ घर निर्माण गरियो,” उहाँले भन्नुभयो, “समस्या धेरै छ, काठ भनेको समयमा उपलब्ध नहुने, समयमै र उचित मूल्यमा निर्माण समाग्री उपलब्ध नहुने र उपलब्ध भए पनि व्यापारीको मनोमानीले गर्दा पुनःनिर्माणमा समस्या छ”, “यस्ता समस्या छानबिन गर्न अहिलेसम्म सम्बन्धित निकायबाट कोही आएको छैन, निर्माण समाग्री समयमा र उचित मूल्यमा उपलब्ध हुने हो भने पुनःनिर्माणले निकै छिटो गति लिन्थ्यो ।”

भूकम्पले तहसनहस बनाएकोे उक्त नगरपालिकाका बस्ती विभिन्न समस्याका बीच यतिबेला धमाधम पुनःनिर्माण हुन थालेका छन् । महाभूकम्पले क्षतविक्षत बनेको नगरपाकिलाको साँखु बजार, जहरसिंहपौवा, नाङ्लेभारेलगायत बस्ती यतिबेला पुनःनिर्माणको क्रममा छन् । सेवा सुविधाका हिसाबले राजधानी काठमाडौँको नजिकै रहेको नगरपालिकाभित्रका बासिन्दा आवास निर्माणमा अग्रसर देखिन्छन् ।

भूकम्प गएको चार वर्ष बित्नै लाग्दा नगरपालिकाभित्रका १५ वटै वडामा पुनःनिर्माण अगाडि बढेको छ । नगरपालिकामा अझै पनि आफ्नो नाम छुटेको भन्दै गुनासो दर्ता गर्न आउने क्रम बढिरहेको उक्त नगरपालिकाका इञ्जिनीयर मिलन फँुयालले जानाकारी दिनुभयो ।

नगरपालिकाको तथ्याङ्कअनुसार, त्यहाँ छ हजार ४० भूकम्पपीडित भएकामा दोस्रो किस्ताको अनुदान पाऊँ भन्दै दुई हजार २२ जनाले निवेदन दिएकामा एक हजार ९६२ जनाको बैंक खातामा रकम जम्मा भइसकेको र बाँकी अनुदनकै प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

आवास पुनःनिर्माण सम्पन्न गरेवापत नगरपालिकाले मङ्सिर ५ गतेसम्म ९९२ भूकम्पपीडितलाई तेस्रो किस्ताको अनुदान वितरण गरिसकेको छ । तेस्रो किस्ता पाऊँ भनि निवेदन दिने एक हजार २९३ मध्ये ९९२ भूकम्पपीडितले तेस्रो किस्ता पाएका हुन् भने बाँकी अनुदान प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र भूकम्पमा छ हजार ४५२ घर पूर्णरुपमा क्षति भएको थियो भने ५८७ घरमा आङ्शिक क्षति भएको थियो ।

प्राधिकरणको ध्यानार्कषण

आवास पुनःनिर्माणका लागि भन्दै पहिलो किस्ता रू ५० हजार अनुदान लिएका अधिकांशले अझै पुनःनिर्माण शुरु गरेका छैनन् । प्राधिकरणले अन्य स्थानमा बस्न योग्य घर भएर पनि अनुदान रकम लिने अधिकांशलाई फिर्ता गर्न आग्रह गरेको छ । यसरी अन्यत्र घर भई अनुदानको रकम दुरुपयोग गर्नेलाई कारवाही गरिने भन्दै प्राधिकरणले सो आग्रह गरेको हो ।

पुनःनिर्माण ढिलाइ हुनामा फाइल जाँच र विभिन्न कार्यालयमा चरणवद्ध रूपमा पीडितको अभिलेख राख्ने तथा मापदण्डअनुसारको घर छ/छैन भनी अनुगमनमा समय लाग्ने भएकाले अनुदान वितरणमा पनि केही ढिलाइ हुन गएको प्राधिकारणले जनाएको छ ।

अनुदान किस्ता समयमै निकासा नहुने, पटक–पटक रोकिने, निर्माण सामग्री, कामदार अभाव, बर्खामा ग्रामीण सडक हिलाम्मे बन्दा निर्माण सामग्री ढुवानीमा समस्यालगायत उल्झनका बीच पीडितले पुनःनिर्माण गर्न सकेका थिएनन् । पटक–पटक प्राधिकरणले अनुदान किस्ता लिने समयसीमा तोकेपछि पुनःनिर्माणले केही गति लिँदै आएको हो ।

गत वर्षको तुलनामा यस वर्ष उक्त नगरपालिकामा आवास पुनःनिर्माणले गति लिएको देखिन्छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक शहर साँखु पनि विस्तारै पुनःनिर्माणमा लागिपरेको छ । साँखुमा शहरको पुनःनिर्माण कसले गर्ने, नक्सा र प्राविधिक जनशक्ति कसरी व्यवस्थापन गर्नेजस्ता विषय समयमै टुङ्गो नलागेर निर्माणमा ढिलाइ भएको थियो । नगरपालिकाले पुरानै शैलीमा घर पुनःनिर्माण गर्ने निर्णय गरेकाले पनि लामो समयसम्म अन्योल छाएको थियो ।

अहिले विस्तारै साँखु शहरले पुनःनिर्माणको गति लिँदै छ । स्थानीयवासी सङ्गीता श्रेष्ठले पुरानै शैलीको घर पुनःनिर्माण गर्नुभएको छ । घर बनाउन उहाँले रु ९० लाखभन्दा बढी खर्चिनुभयो । ऋण लिएर भए पनि आफूले पुनःनिर्माण गरेको उहाँले बताउनुभयो । भूकम्पमा परी नगरपालिकामा मात्र २६ पुरुष र ७२ महिला गरी ९८ को मृत्यु भएको थियो । यहाँ छ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !