१९ असार २०८१, बुधबार

नरैनापुरमा एकीकृत घुम्ती शिविर


बाँके

११ मङ्सिर, नेपालगञ्ज । बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त घुम्ती शिविर शुरु गरिएको हो ।

नरैनापुर गाउँपालिका– ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपूर्वामा सञ्चालन गरिएको सो घुम्ती शिविरमा नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच, जग्गा नापी, नागरिकता वितरण र मतदाता नामावली सङ्कलनसम्बन्धी सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । सोमबार ६१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।

घुम्ती शिविरसँगै गरिएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाका बासिन्दाले सरकारी कर्मचारीको काम गर्ने प्रवृत्तिमा कुनै सुधार नआएको गुनासो गरेका थिए । सो अवसरमा प्रजिअ भुजेलले सबै सरकारी कार्यालयको काममा सुधार ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

धान खरीद शुरु

नेपालगञ्जस्थित नेपाल खाद्य संस्थानको अञ्चल कार्यालयले सोमबारदेखि किसानबाट धान खरीद शुरु गरेको छ । कारकादोस्थित संस्थानको खरीद केन्द्रबाट धान खरीद थालिएको हो । मोटो र मध्यम गरी सोमबार साँझसम्म करीब १०० क्विन्टल धान खरीद गरिएको अञ्चल प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।

धान बिक्री गर्न आउने किसानले नागरिकता र जग्गाको लालपुर्जाको प्रतिलिपि प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने प्रावधान राखिएको छ । धान खरीद गर्दा पल्लेदारी खर्च भने संस्थानले नै बेहोर्ने छ । संस्थानले यस वर्ष मोटो धान प्रतिक्विन्टल रु दुई हजार ३३१ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ४६० मा खरीद गर्दैछ । संस्थानले यस वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने जनाएको छ । लक्ष्य निर्धारण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !