१२ बैशाख २०८१, बुधबार

अग्नि नियन्त्रकलाई तालीम


bhaktapur immage

२८ कात्तिक, भक्तपुर । विभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालीम भक्तपुरमा शुरु गरिएको छ ।

जुद्ध बारुणयन्त्र भक्तपुर र नागरिक उड्डयन प्राधिकरण सानोठिमिको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक यो तालीम आजदेखि शुरु भएको हो । जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरका सूचना अधिकृत विजय धौभडेलको विशेष पहलमा सञ्चालित तालीम पाँच दिनसम्म चल्ने छ । बेल्जियमको फायर फाइटर फोर नेपाल नामक संस्थाका १५ विशेषज्ञ टोलीले पाँच दिनसम्म नेपालका ७० जनालाई तीन प्रकारको तालीम दिने कार्यालयका सूचना अधिकृत धौभडेलले जानकारी दिनुभयो ।

तालीममा आठलाई पहिलो तहको प्रशिक्षक प्रशिक्षण तालीम दिएर नेपालका लागि प्रशिक्षक बनाउने, अग्नि नियन्त्रण गर्न जाँदा आगोबाट जोगिएर श्वासप्रश्वास कसरी लिने भन्नेबारेमा १२ लाई प्रशिक्षक तालीम र अन्यलाई अग्नि नियन्त्रणसम्बन्धी उच्च प्रकारको तालीम दिइने बताइएको छ । तालीममा भक्तपुर, ललितपुर, भैरहवा, बुटवल, वीरगञ्ज, बाग्लुङका बारुणयन्त्रका कर्मचारी र गोरखा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनका प्रहरीको सहभागिता रहेको छ ।

सो तालीमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आगलागीको उच्च जोखिमको नेपालमा यस प्रकारको तालीम उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा स्रोत र साधनको अभावका बाबजुद पनि जोखिम मोलेर नै अग्नि नियन्त्रकले आगो निभाइरहेका छन्, जोखिमबाट कसरी बच्ने र छिटो कसरी आगो निभाउने भन्नेबारमा बेल्जियमको टिमसँग जतिसक्दो धेरै कुरा सिक्नु पर्छ ।”

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरण सानोठिमि शाखाका प्रमुख देवेन्द्र केसीले तालीम निकै उपलब्धिमूलक रहेको बताउँदै नेपालीले बेल्जियम प्रशिक्षकबाट धेरैभन्दा धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । फायर फाइटर फोर नेपालका प्रमुख एवं बेल्जियम प्रशिक्षक जोहन स्कोट्स र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अग्नि नियन्त्रण विभागका निर्देशक कृष्णबहादुर थापाले नेपालभरका अग्नि नियन्त्रकलाई यस प्रकारको तालीम दिनु आवश्यक रहेको बतउनुभयो ।

जुद्ध बारुणयन्त्र भक्तपुरका प्रमुख लक्ष्मण गुरागाईंले तालीम पछि बेल्जियम प्रशिक्षकको टोलीले ल्याएको करीब रु १० करोड बराबरको सामान प्रशिक्षणमा सहभागी हुने जिल्लाका बारुणयन्त्रलाई वितरण गरिने बताउनुभयो । यस प्रकारको तालीम र सामान सरकारले दिनुपर्नेमा उल्टो बेल्जियम टोलीले नेपाललाई दिन ल्याएको सामानमा समेत भन्सार लगाएर अन्याय गरेको गुनासो गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !