२२ भाद्र २०८१, शनिबार

काउन्सिलका उजुरीमा मेलमिलाप


Nepalpatra

२७ कात्तिक, काठमाडौँ । यही कात्तिक ८ गते प्रेस काउन्सिलको मध्यस्थतामा उजुरीकर्ता ओशो तपोवन र नेपाल आज डटकमका प्रतिनिधिबीच छलफल भई मेलमिलाप भएको छ ।

मानहानी भयो भन्दै उजुरीकर्ताले पठाएको खण्डन जस्ताको तस्तै छाप्ने र उजुरीकर्ताको भनाइ राख्न पर्याप्त समय दिने विषयमा दुई पक्षबीच सहमति भएपछि मेलमिलाप भएको हो । त्यसैगरी यही वैशाख १४ गते पूरा समाचार डटकमबाट नेपाल टेलिकमका विषयमा सम्प्रेषित सामग्री र सो माथि नेपाल टेलिकमको तर्फबाट परेको उजुरीका सम्बन्धमा पनि सहमति भएको छ ।

काउन्सिल र पूरा समाचार डटकमका सम्पादकबीच छलफल भई नेपाल टेलिकमबाट प्राप्त खण्डनलाई यसअघि प्रकाशित सबै समाचार शीर्षक उल्लेख गरी सोको विषयमा नेपाल टेलिकमबाट प्राप्त खण्डनको व्यहोरा स्पष्ट गरी खण्डन प्रकाशन गर्ने सहमति भएको हो ।

वैशाख २७ गते व्यापारी सुवास श्रेष्ठका विषयमा सुशासन न्यूज साप्ताहिक (सुशासन न्यूज डटकमसमेत) विरुद्ध परेको उजुरीका सम्बन्धमा सञ्चारमाध्यमको तर्फबाट सम्पादक उत्तम अर्याल, व्यवस्थापक दिनेश अर्याल, उजुरीकर्ता र काउन्सिलको छलफल कार्यदलबीच उजुरीमा उल्लेख भएको फोनवार्ता, समाचारको आधारका विषयमा छलफल भयो ।

त्यस सम्बन्धमा सुशासन न्यूज साप्ताहिकले उजुरीसँग सम्बन्धित विस्तृत विवरण उल्लेख गरी खण्डन प्रकाशन गर्ने र सो खण्डन पत्रिकाको अनलाइन संस्करणमा समेत प्रकाशन गर्ने सहमति भयो ।

काउन्सिलमा परेका उजुरीमध्ये मेलमिलाप भएका यी प्रतिनिधि उजुरी मात्रै हुन् । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल समाचारविरुद्ध परेका उजुरीलाई ‘फास्ट ट्र्याक’ विधिबाट टुङ्गो लगाउने कार्यलाई एक अभियानका रुपमा तीव्रता दिएको छ । अदालतमा समेत वादी÷प्रतिवादीबीच सकेसम्म मेलमिलाप गराउने नीति रहेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (२) को अधिनमा रही उजुरीकर्ता र सम्बन्धित आमसञ्चारमाध्यमबीच मेलमिलापको माध्यमबाट समस्याको समाधान दिन थालेको निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भएको सन्दर्भमा दिनहुँ उजुरी पर्ने गरेकाले त्यसलाई छिटोछिटो किनारा लगाउने विधि अपनाउनुपरेको हो भन्नुभयो । पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ ।

यस आर्थिक वर्ष (२०७५/७६) को गत साउनदेखि असोज मसान्तसम्ममा विद्युतीय माध्यममा ३७ र छापामाध्यममा १४ गरी ५१ उजुरी परेका छन् । विद्युतीय माध्यममा परेका ३७ उजुरीमध्ये ११ फछ्र्योट भएको र २६ कारवाही प्रक्रियामा रहेको छ । त्यसैगरी छापा माध्यममा परेका १४ उजुरीमध्ये चार फछ्र्योट भएको र १० कारवाही प्रक्रियामा छन् । यी ५१ उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्रहत्या गरेको, मानहानी भएको लगायतका विषयमा छन् ।

आर्थिक वर्ष २०७४/७५ मा १६५, आव २०७३/७४ मा ११२, २०७२/७३ मा १०१, २०७१/७२ मा ५१, २०७०÷७१ मा ३९ र २०६९/७० मा ४६ उजुरी परेका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !