१९ असार २०८१, बुधबार

पत्रकार खशोग्गीको हत्या बारे बुझ्न साउदी टोली इस्तानबुलमा


saudi-arebia

२० कात्तिक, इस्तानबुल । आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ ।

खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् ।

रसायनशास्त्री र विषविज्ञान विज्ञ पनि रहेको टोलीले हत्याका प्रमाणहरु खोजी गर्ने टर्कीको पत्रिकाले सोमबार लेखेको छ ।

पत्रकार खशोग्गीको हत्यामा साउदी अरबको राजदरबारकै संलग्नता रहेको आशंका र आरोप लागिरहेका बेला साउदी अरबले अनुसन्धान टोली पठाएको हो ।

टर्कीका अधिकारीहरुले पत्रकार खशोग्गीको हत्यासम्वन्धी डरलाग्दो विवरणहरु रहेको जनाएका छन् ।

इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएका बेला ५९ बर्षिय पत्रकार खशोग्गीको हत्या भएको सार्वजनिक भएपनि शव भने अहिले सम्म भेटिएको छैन ।

टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका बेला हत्या भएको थियो ।

टर्कीको सरकार पक्षीय सवाह दैनिकले गत अक्टोबर ११ तारिखका दिन नै साउदी अरबले ११ सदस्यीय टोली टर्की पठाएको समाचार लेखेको छ ।

स्वघोषित अनुसन्धान टोलीमा रसायन शास्त्री अहमद अब्दुल्लाजिज अल्जानोबी र विषज्ञान शास्त्री खालेद याह्या अल जाहरानी रहेको पत्रिकाले जनाएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने साउदी अरबकै उच्च तहको संलग्नतामा खशोग्गीको हत्या भएको आरोप लगाउनु भएको छ ।

त्यसैगरी टर्कीका अनुसन्धानकर्ताहरूले पनि निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गीको घाँटी अठ्याएर हत्या भएको दावी गरेका छन् ।

दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गर्नु भएका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो ।

राजपरिवारबाट टाढा भएपछि उहाँले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आउनु भएको थियो ।

मासिक रुपमा स्तम्भ लेख्न थालेपछि उहाँले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्ने गर्नुभएको थियो । त्यही आलोचक भएकैले उहाँको हत्या भएको कतिपयको आशंका छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !