१५ असार २०८१, शनिबार

तरकारीको बीउ पर्याप्त उत्पादन


Nepalpatra

१९ कात्तिक, रुकुम पश्चिम । रुकुम पश्चिम तरकारीको बीउमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा मूल र उन्नत तरकारी बीउ उत्पादन हुँदै आएको छ । बीउ उत्पादन केन्द्र चापाले मात्रै वर्षमा तीन हजार किलोभन्दा बढी तरकारीको बीउ उत्पादन गर्ने गरेको छ ।

केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा झण्डै तीन हजार ७०० किलो तरकारीको मूल र उन्नत बीउ उत्पादन गरेको थियो । केन्द्रले आव २०७३/७४ मा तीन हजार ६८२ किलो तरकारीको बीउ उत्पादन गरेको थियो । केन्द्रले काउली, मुला, मिनोअर्ली, प्याज, सलगम, रायो, केराउ सिक्किमे, केराउ आर्केल र गोलभेँडाको बीउ उत्पादन गर्ने गरेको छ ।

बीउ उत्पादन केन्द्रले मूल बीउका साथै उन्नत बीउसमेत उत्पादन गर्दै आएको छ । यहाँ १५ उन्नत तरकारीको बीउ उत्पादन हुन्छ । केराउ सिङ्गापुरे, स्वीचाड, चम्सुर, सिमी चौमासे, सिमी त्रिशूली, सिमी बोटे कन्टुकी र गाँजरको उन्नत बीउ उत्पादन हुने गरेको केन्द्रका प्रमुख वरिष्ठ बागबानी विकास अधिकृत डा रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो ।

यसैगरी गोलभेँडा मनप्रेक्स, धनीयाँ, रामतोरीया, स्क्वास, भटमास, बोडीलगायतको उन्नत बीउ उत्पादन गरिन्छ । बीउ उत्पादन केन्द्रले खाद्यान्नतर्फ धान खुमल ४, कालोधान र मकै अरुण २ उन्नत बीउसमेत उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ । यहाँ उत्पादन गरिएको तरकारीको बीउ रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, दाङ, प्यूठान, रोल्पा, जाजरकोट, सुर्खेत, अर्घाखाँची, रुपन्देहीलगायतका जिल्लामा बिक्री गरिन्छ ।

गत वर्ष केन्द्रले विभिन्न तरकारीका दुई लाख ३५ हजार बेर्ना बिक्री गरेको थियो । “हरेक वर्ष बीउको उत्पादन बढाउँदै लगेका छौँ, राजश्वमा समेत वृद्धि भएको छ,” चौबेले भन्नुभयो । जिल्लाका विभिन्न कृषक समूहले पनि तरकारीको बीउ उत्पादन गर्दै आएका छन् । बीउ बिक्री गरी यहाँका कृषक समूहले लाखौँ आम्दानी गर्ने गरेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !