१७ असार २०८१, सोमबार

नारायणीमा नयाँ पुल बनाइने


Nepalpatra

९ कात्तिक, चितवन । चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ ।

चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो । यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको चाप पनि बढ्दै गएको छ । पुलमा दैनिकजसो सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख अर्जुनजङ्ग थापाका अनुसार पुलले धान्न सक्ने क्षमता घट्दै गएका कारण नयाँ पुलको नक्साङ्कनको काम शुरु गरिँदै छ । सोही पुलको समानान्तर उत्तर वा दक्षिणबाट पुल निर्माण गर्ने तयारी गरिएको छ ।

हालको सो पुल दुई लेनको हो । चार लेनको पुल बनाउने तयारी गरिएको छ । हाल सञ्चालनमा रहेको पुललाई थप मर्मत सम्भार गरी दुबै पुल सञ्चालन गरिने उहाँले बताउनुभयो । विसं २०३८ मा सो पुल निर्माण गरिएको हो । पुलको भार बहन क्षमताको आयु भने ८० वर्ष हुने प्राविधिक बताउँछन् ।

थापाका अनुसार दैनिक १० हजार हाराहारी सवारी धान्ने गरी दुई लेनको पुलनिर्माण गरिएको भएपनि हाल सवारी सङ्ख्या बढेपछि आवागमनमा समस्या भएको हो । नारायणीसहित देशका विभिन्न १० नदीमा अत्याधुनिक आकर्षक पुल निर्माण गर्ने तयारी गरिएको छ । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिने उपमहानिर्देशक थापाले जानकारी दिनुभयो । आउँदो आर्थिक वर्षभित्रमा नक्साङ्कन सम्पन्न गरी बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताइएको छ ।

नारायणीसँगै बुटवलसम्मका अन्य पुल पनि नयाँ बनाउने तयारी गरिएको छ । पुलको नक्साङ्कनका लागि विदेशी विज्ञले काम शुरु गरेको थापाको भनाई छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !