५ फाल्गुन २०८२, मंगलबार

थुमनको नागथलीमा सुरक्षा पोष्ट राख्ने तयारी


Nepalpatra

२७ असोज, रसुवा । चोरी शिकारीलगायत गैरकानूनी क्रियाकलाप रोक्न उत्तरी रसुवाको नागथलीमा सुरक्षा चौकी स्थापना गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार साविक थुमन गाविस हाल गोसाइँकुण्ड गाउँपालिका–१ को नागथली क्षेत्रबाट नेपाल र चीनको केरुङ आउजाउ गर्ने पुरानो हिमाली पैदल मार्गका साथै मालागढी नामले चर्चित क्षेत्रसमेत भएको र त्यस क्षेत्रबाट हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको सुरक्षा चौकी स्थापना गर्ने तयारी गरिएको हो ।

तिहारअगाबै स्थापना भइसक्ने उक्त चौकीले नेपाल चीनबीचको सीमा सुरक्षा, चोरी शिकारी तथा तस्करी नियन्त्रण गर्नाका साथै थुमनस्थित नेपाल प्रहरीको सुरक्षा चौकीलाई समेत आवश्यकताअनुसार थप मद्दत पु¥याउने प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

यसैगरी स्याफ्रु मैलुङ राजमार्गको ट्र्याक खुलिसकेकाले सम्भावित अवैध कारोवार रोक्न मैलुङमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षा जाँच चौकी स्थापना गर्न छलफल भइरहेको सुरक्षा निकायले जनाएको छ ।

गत वर्ष नेपाली सेनाले दुईतर्फी ट्रयाक खोलिसकेको र स्याफ्रु मैलुङ राजमार्गको अवरोध हटेपछि सामान लिन केरुङ जाने खाली कन्टेनरलाई बेत्रावतीको धुञ्चेबाट पठाइने भएको छ । केरुङबाट सामान लिई काठमाडौँ जाने डिब्बालाई स्याफ्रुको मैलुङबाट पठाई दुई देशबीचको व्यापार व्यवसाय तीव्र पार्न गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनासँग स्थानीय प्रशासनले समन्वय गरिरहेको पनि बताइएको छ ।

नेपाली सेनाले यसै वर्षको शुरुमै सडक सुधार आयोजनालाई सुम्पेको उक्त स्याफ्रु–मैलुङ राजमार्गको वर्षायाममा भएको अवरोध हटाउन करीब एक महीना लाग्ने र विभिन्न स्थानमा टेवा र पर्खाललगायतका अन्य कामका लागि प्रक्रिया अगाडि बढी रहेको सडकसँग सम्बन्धित प्राविधिकले बताएका छन् ।

त्यस्तै वर्षायामको बाढी पहिरोका कारण अवरुद्ध रसुवाका ग्रामीण सडक सञ्चालनमा आइसकेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । नौकुण्ड गाउँपालिकाको यार्सा, सरमथली, भोर्ले, लोकिल, सरस्युँ, कालिका गापाको धैबुङ घुम्तीदेखि जिवजिवे, उत्तरगया गाउँपालकाको आम भञ्ज्याङदेखि अम्बावास, शान्ति बजार हुँदै डाँडागाउँ, ठूलोगाउँ, रोङगा, वृद्धिम, खाम्जीङ, भार्खु–ठूलोस्याफ्रु समेतका सबै ग्रामीण सडकबाट दशैँका खाद्य सामग्री र विकास निर्माणका सामग्री ढुवानी भइसकेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !