१३ आश्विन २०८१, आइतबार

आगलागीपीडितलाई नयाँ घर


पर्वत

२६ असोज, पर्वत । आगलागीबाट घरबारविहीन पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहारका रुपमा पाउनुभएको छ ।

महाशीला गाउँपालिका–१ होस्राङ्दीका आगलागीपीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर बनाइदिनुभएको हो । पीडितलाई कोरियामा बस्दै आएकी दीपा रानाले नयाँ गोठ निर्माण गरिदिनुभएको छ ।

गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घरगोठ जलेपछि आफन्तको शरणमा बस्दै आउनुभएको थियो । गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि पशु चौपायसहित घरगोठ गुमाएका अधिकारीलाई रु तीन लाख खर्च गरेर गुरुङले घर निर्माण गरिदिनुभएको छ । सामाजिक सञ्जालमार्फत महाशीला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गर्नुभएको थियो ।

निम्न आर्थिक अवस्था भएका खरिलालको परिवार नयाँ घर निर्माण भएपछि अहिले प्रफुल्ल हुनुहुन्छ । “यति धेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइन”, नयाँ घर हस्तान्तरण कार्यक्रममा खरिलालले भन्नुभयो, “आज मैले नसोचेको बास पाएको छु”, उहाँलाई बिहीबार महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलमार्फत घर हस्तान्तरणसमेत गरिएको छ । खरिलालको घरमा श्रीमतीसहित दुई छोरा बस्दै आएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !