७ मंसिर २०८१, शुक्रबार

जलजलाका दुई सय घर उच्च जोखिममा


पर्वत

२९ भदौ, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् ।

गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् ।

म्याग्दी र र मुस्ताङको उपल्लो क्षेत्रमा परेको वर्षाका कारण गत बुधबारदेखि आएको बाढीका कारण कालीगण्डकी किनारतर्फका बस्ती जोखिममा परेका हुन् । नदी किनारमा रहेका घर उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा नरोकिएकाले कालीगण्डकीको बहाब नघट्दा कटान रोकिएको छैन ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल र तटबन्धसमेत भत्किएकाले बजार क्षेत्रतर्फको कटान बढ्दै गएको छ । अहिलेसम्म स्थानीय आमा समूहको सामुदायिक भवनमा सामान्य क्षति भएको भएपनि ठूलो क्षति भने भएको छैन । तर, कतिबेला बजारभित्रै कालीगण्डकी पस्ने हो भन्ने त्रास रहेको स्थानीय चित्रराज रेग्मीले गुनासो गर्नुभयो ।

नदीले कटान गर्दै जान थालेपछि बस्ती जोखिममा परेको वडाअध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिनुभयो । बाढीकै कारण बेनी–बगरफाँट–बाँसखर्क सडकसमेत अवरुद्ध बनेको छ । ग्रामीण सडक नदीले कटान गरेपछि अहिले त्यस क्षेत्रका बासिन्दालाई पैदलमार्फत आवातजावत गर्न समेत समस्या भएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय जलजला गाउँपालिकालाई क्षतिको विवरण सङ्कलन गर्न र जोखिममा रहेका परिवारको तथ्याङ्क सङ्कलन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले नदी किनारका बासिन्दालाई वर्षात र बाढी पहिरोको समयमा उच्च सतर्ककता अपनाउन सुझाव दिएको उल्लेख गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !