१६ असार २०८१, आइतबार

उज्यालो नेपालका लागि पूर्वकर्मचारीको क्षमता उपयोग गरिने


Nepalpatra

२५ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकर्मचारीको क्षमता तथा योग्यतालाई ऊर्जा क्षेत्रको विकासमा लगाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाजले विभिन्न गतिविधि गर्दै आएको छ ।

समाजको यहाँ सम्पन्न तेश्रो वार्षिक साधारणसभाले सरकारले अगाडि सारेका उज्यालो नेपाल र आर्थिक समृद्धिको लक्ष्यलाई अगाडि बढाउन पूर्व कर्मचारीको भूमिका महत्वपूर्ण हुने ठहर गरेको छ ।

ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि लामो समय प्राधिकरणमा कार्यरत कर्मचारीले आफ्नो ज्ञान, सीप र क्षमतालाई लगाएर मात्रै सम्भव रहेको समाजको निष्कर्ष रहेको समाजका अध्यक्ष दण्डपाणि बस्यालले जानकारी दिनुभयो ।

समाजको वार्षिक साधारणसभाको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले गर्नुभएको थियो ।

उहाँले समाजमा आवद्ध प्राधिकरणका पूर्वकर्मचारीको योग्यतालाई ऊर्जा क्षेत्रको विकासमा केन्द्रित गरिने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही ठूला आयोजनाको निर्माणमा प्राधिकरण आफैले लगानी गर्ने र त्यसमा पूर्वकर्मचारीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजको आय–व्यय विवरण र भावी कार्यक्रम प्रस्तुत गरिएको समाजका उपाध्यक्ष श्री बैजुनाथ रौनियारले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !