१२ असार २०८१, बुधबार

‘सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा लुटेराको फन्दामा


Sex-Racket

काठमाडौं, ६ साउन – क्यानडाबाट फर्किएका मनोज गौतम रमाइलो गर्न ठमेलको इबिजा रेस्टुरेन्ट पुगे। रेस्टुरेन्टको माहौलमा ५ पेग ह्विस्की पिएपछि ‘सेक्स पार्टनर’ खोज्न ठमेलका चोक चहार्न थाले।

ग्राहक खोज्न ठमेल चोकमा बसेका सञ्जीव बोहोराको नजर उनीमाथि पर्‍यो। ‘सर जाने हो?’ बोहोराको प्रस्तावमा उत्साहित हुँदै गौतमले भने, ‘जान त जाने तर झारेझुरे हुन्न मलाई।’ ‘अलि महँगो पर्छ नि’ भन्दै उनले चल्तीका नायिका र मोडल गरी १० जनाजतिको नाम लिए। तीमध्ये गौतमले एक नाम चयन गरे।

‘५० हजार पर्छ सर यसको त !’ कान्तिपुरमा खबर छापिएको छ ।

रमझमका लागि भन्दै एक हजार अमेरिकी डलर साटेर बसेका गौतमले राजी हुँदै ‘५० हैन ५५ दिन्छु’ भनेपछि बोहाराले ट्याक्सी बोलाए।

ट्याक्सी चालक अनिल तामाङले दरबारमार्गतिर बस्दा प्रहरीको छापामा पर्न सकिन्छ भन्दै उनलाई गौशालाको एक होटलमा जान प्रस्ताव गरे। गौतम राजी भए। गौशाला पुगेपछि बोहोरा र तामाङले नायिका हिँडिसकेको बताउँदै ह्विस्की थप्न प्रस्ताव गरे। सेलिब्रेटीसँग रात बिताउन पाइने भइयो भनेर मक्ख हुँदै गौतम राजी भए।

बिहान आँखा खुल्दा कोठामा गौतम एक्लै थिए। हत्तपत्त उनले पर्स चेक गरे। ५५ हजार रुपैयाँ पर्समा थिएन। होटलका कर्मचारीसँग सोध्दा बोहोरा र तामाङ दुवै बेलुकै हिँडेको खुल्यो। यी दुई जना हिँडेपछि उनको कोठामा अरू कोही आएका थिएनन्। बल्ल चाल पाए, पैसाको बलमा ‘सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा उनी लुटेराको फन्दामा परेका थिए।

केही दिन त्यसै बसेका उनले घटनाबारे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी गरेको करिब ३० दिनपछि प्रहरीले ‘सेलिब्रेटीको नाम लिँदै लुटपाटमा संलग्न बोहोरा र तामाङलाई बुधबार पक्राउ गर्‍यो।

‘पीडित पैसा लुटिएको भन्दा पनि दलालले प्रस्ताव गरेको नायिकासँग भेट्न नपाएकोमा बढी थकथक मानिरहेका थिए,’ सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘तामाङ र बोहोराले होटलमा पुर्‍याएर ह्विस्कीमा नशालु दबाई मिलाएर बेहोस बनाएर पैसा लुटेको देखिन्छ।’

प्रहरीका अनुसार पक्राउ परेका बोहोरा युवती मिलाउन ठमेल क्षेत्रमा कहलिएका दलाल हुन् भने तामाङ उनका साथी। बोहोराले ग्राहक खोज्ने र तामाङले आफ्नो ट्याक्सीमा राखेर सम्पर्कमा रहेको होटलमा लैजाने गर्दै आएका थिए।

गौतमको जानकारीका आधारमा प्रहरीले बोहोरा र तामाङको मोबाइलमा रहेको सम्पर्क नम्बरको सूची हेर्दा दर्जनौं ‘नायिका र मोडल’ को नाम देखियो। तामाङको भाइबरमा केही चल्तीका मोडलसँग मोलतोलको दोहोरो संवादका विवरण प्रहरीले फेला पारेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !