१८ भदौ, पोखरा । हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा स्थापना गरिएको छ ।
हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रमको औपचारिक थालनी भएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण प्रथमलाई जेठो हिमालका रुपमा लिने गरिन्छ । अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यसाथ अघिल्लो वर्ष अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजना गरिएको थियो । महोत्सव आयोजक समितिको सक्रियतामा लगभग रु १२ लाख लागतमा हर्जोगको शालिक स्थापना गरिएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङका अनुसार अर्धकदको शालिक समुद्री सतहबाट चार हजार १३० मिटर उचाइस्थित अन्नपूर्ण आधार शिविरमा राखिएको छ । लियोन फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।
समितिले फ्रान्समा रहेका हर्जोगका परिवारका सदस्यसमेतलाई बोलाएर चाँडै नै शालिकको अनावरण गर्ने तयारी गरेको छ । पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर पुग्ने पहिलो पदयात्री भने एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए ।
नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्रामा जान्छन् । त्यसको लगभग १० प्रतिशत हिमाल आरोहण गर्न जाने गर्छन् । अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर आठ हजार ८४८ मिटर अग्लो सगरमाथा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो ।
सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम छ । तर आरोहणका दृष्टिले कठीन हिमाल भएकाले अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्याति प्राप्त गर्न नसके पनि यसले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको छ । अन्नपूर्ण हिमाल आरोहणका दृष्टिले जेठो हिमाल बन्नुका साथै अन्नपूर्ण क्षेत्र विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको एक भएकाले विश्वव्यापी रुपमा नै यस क्षेत्रको गरिमा र आकर्षण अझै बढाएको ट्रेकिङ एजेण्ट एशोसियसन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुहुन्छ ।
अन्नपूर्ण आधार शिविरमा हर्जोगको शालिक बन्नु आफैँमा महत्वपूर्ण रहेको बताउँदै उहाँले आधार शिविरसम्म पुग्ने पदमार्गलाई व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राख्नुहुन्छ ।
अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनको आकर्षक गन्तव्य भएकै कारण यसको विकासका लागि अन्नपूर्ण गाउँपालिकाले सक्रियता देखाएको छ । गाउँपालिकाका प्रमुख युवराज कुँवरले पदमार्गको स्तरोन्नतिका साथै व्यवस्थित गर्न झिनुदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । पदमार्ग क्षेत्रमा जीर्ण बन्दै गएका काठका १८ वटा पुलमध्ये आधार शिविर नजिकैको दुई वटा पुल फेरिएको उहाँले जानकारी दिनुभयो ।
अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखरा पर्यटकीयस्थलका रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा थप चासो र चर्चाको विषय बनेको पर्यटन व्यवसायी बताउँछन् । सन् १९५० भन्दा अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्र रहेको नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । स्व हर्जोगले पोखरासहित नेपाललाई विश्वभरि चिनाउने काम गरेको बताउँदै उहाँले त्यसपछि मात्र नेपालका हिमाल सम्बन्धमा अध्ययन अनुसन्धान शुरु भएको धारणा राख्नुभयो ।
पोखरा बसेका हर्जोग नेतृत्वको फ्रान्सेली टोली शुरुमा लाहाचोक घाचोक हुँदै अन्नपूर्ण हिमालतर्फ जाने प्रयास गरे पनि पछि घान्द्रुक हुँदै गएको पाइन्छ । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६२९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ जसले मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दी, कास्की र लमजुङका विभिन्न क्षेत्रलाई समेटेको छ ।(रासस)