२४ बैशाख २०८१, सोमबार

कनकमणिको नाममा राजस्वको सार्वजनिक सूचना, पत्नीसहित अविलम्ब उपस्थित हुन निर्देशन


kanak-mani-dixit

काठमाडौं : ‘विदेशी विनिमय सम्बन्धी’ छानविन र अनुसन्धानको लागि अबिलम्ब उपस्थित हुन भन्दै राजस्व अनुसन्धान विभागले कनकमणि दीक्षित र उनकी पत्नी शान्ताको नाममा सार्वजनिक सूचना जारी गरेको छ।

पटक-पटक पत्राचार गर्दा र प्रहरी टोली पठाउँदा समेत फेला नपरेको भन्दै विभागले अनिवार्य उपस्थित नभए प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने समेत जनाएको छ।

यसअघि सात दिनभित्र उपस्थित हुन पत्र पठाउँदा घरमा फेला नपरेको र छोरा इलमलाई २०७३ असार १३ गते पत्र पठाउँदा पनि विभागमा नआएको सूचनामा उल्लेख छ। गोरखापत्रमा प्रकाशित उक्त सूचनामा ‘फोनमा समेत सम्पर्कमा नआएकाले २०७३ असार २८ गते महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी टोली सहित घर ठेगानामा लिन जाँदा फेला नपरेको’ भनिएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष दीक्षितसँग अकूत सम्पति भएको दाबी गर्दै विभिन्न विदेशी बैंकमा रकम राखेको बताएको थियो।

दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा १७ हजार २०८ अमेरिकी डलर, पत्नी शान्ताको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा ४ हजार १२६ रहेको आयोगको दाबी छ।

यस्तै, कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबिसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ।

त्यस्तै, दीक्षित दम्पतीको नाममा एसबिसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एसबिसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !