१० पुस २०८१, बुधबार

१९५० को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ का बारेमा बृहत छलफल


meeting

२१ असार, २०७३:- काठमाडौ, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो संयुक्त बैठकमा सन् १९५० को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ ले प्रवेश पाएको छ। दुई देशबीचका सन्धिसम्झौता र सम्बन्ध पुनरवलोकनका लागि आ–आफ्नो सरकारलाई सुझाव पेस गर्न गठित समूहको सोमबार राजधानीमा सुरु दुईदिने बैठकको पहिलो दिन नेपाली पक्षले विवादित सन्धिमाथि छलफल अघि सारेको हो।

‘बैठकमा नेपाली पक्षले छलफलका लागि सन् १९५० को शान्ति तथा मैत्री सन्धि अघि सारेको छ,’ नेपालतर्फको प्रबुद्ध व्यक्ति समूह सचिवालयका कार्यकारी निर्देशक यादव खनालले बैठकबारे जानकारी दिए, ‘सन्धिमा नकारात्मक कुरा भएको स्विकार्दै संशोधनका लागि त्यसको पुनरवलोकन वा खारेज नै गर्नेबारे छलफल अघि बढाउन दुवै पक्ष सहमत छन्।’

बैठकको सुरुमा भारतीय पक्षले खास सन्धिसम्झौतामा केन्द्रित नभई समग्रमा कुरा राखेको थियो। नेपाली पक्षले भने एउटै मात्र सन् १९५० को सन्धिको नाम किटान गरी छलफलका लागि प्रस्ताव गरेको थियो। पछिल्ला दिन दुई देशबीच बढेको असमझदारी हटाई विश्वास निर्माण गर्नुपर्नेतर्फ बैठकमा नेपालले भारतीय पक्षको ध्यानाकर्षण गरेको थियो।

‘छलफल निकै सकारात्मक भएको छ। भारतीय पक्ष सकारात्मक देखिएको छ। बैठकमा समग्रमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल भयो। अबका दिनमा समूह कसरी अघि बढ्ने, दुई वर्षभित्र कसरी सम्पूर्ण कुरा टुंगो लगाउने भन्ने कार्यतालिकामाथि प्रारम्भिक छलफल भएको छ,’ खनालले भने।

सन् २०१४ को जुलाईमा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको (परराष्ट्रमन्त्री स्तरीय) तेस्रो बैठकले दुई देशबीच हालसम्म भएका सम्झौता र सहमति अध्ययन–अनुसन्धान गरी पुनरवलोकनका लागि सुझाव पेस गर्न दुवै देशमा प्रबुद्ध व्यक्ति समूह गठन गर्ने निर्णय गरेको थियो। सोही वर्ष अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा सन् १९५० को सन्धिलगायत सम्झौता पुनरवलोकन गर्न गठित आयोगले गरेको प्रबुद्ध व्यक्ति समूह गठन गर्ने निर्णयको दुवै देशका प्रधानमन्त्रीले स्वागत गरेका थिए।

आयोग बैठकले नै समूहमा दुई देशका चार–चार जना गरी आठ सदस्य रहने व्यवस्था गरेको थियो। समूहमा दुवै देशबाट एक–एक जना सांसद, एक–एक जना वकिल, एक–एक जना अर्थशास्त्री र एक–एक जना नागरिक समाजका अगुवा रहने व्यवस्था थियो। प्रधानमन्त्री केपी शर्मा ओली २०७२ फागुन ७ गते भारतको राजकीय भ्रमणमा निस्कनुअघि सरकारले प्रबुद्ध व्यक्ति समूह गठन गरेको थियो। सोही भ्रमणका बेला दुवै देशले प्रबुद्ध समूहमा रहने आ–आफ्ना देशका प्रतिनिधिको नाम सार्वजनिक गरेका थिए।

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा नेपालतर्फको समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य रहेका छन्। भारतद्वारा गठित प्रबुद्ध व्यक्ति समूहमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी. लामा, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती छन्।

‘समूहका सदस्य सरकारी प्रतिनिधि नभएकाले दुवै पक्षले खुलेर समस्या राख्ने र प्रत्येक मुद्दामा छलफल गर्ने समझदारी बैठकमा बनेको छ,’ कार्यकारी निर्देशक खनालले भने, ‘बैठकमा नेपाल र भारतका समूह दुईपक्षीय रूपमा प्रस्तुत नभई साथीभाइका रूपमा पेस भई दुवै पक्षले दुवै पक्षको हित हुने गरी छलफल अघि बढाउने पनि समझदारी बनेको छ।’

मंगलबार पनि हुने बैठकले आगामी दुई वर्षमा कसरी अघि बढ्ने भन्ने कार्यतालिका तय गर्ने र आउँदा बैठकमा सोहीअनुसार दुवै पक्ष प्रस्तुत हुने उनले जनाए। दुईदिने बैठकले गरेका निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरी दुवै पक्षले सार्वजनिक गर्ने जनाइएको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षपछि पहिलोपटक सोमबार राजधानी काठमाडौंमा नेपाल र भारतका सम्बन्ध अधिकारी दुई देशबीचको सम्बन्धलाई लिएर खुलेर बहस गर्न एउटै टेबलमा बसेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !