२७ साउन, काठमाडौँ । भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ ।
धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीमात्र पास भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।
पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंकास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति तीन पटकसम्म रोकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राससलाई जानकारी दिनुभयो ।
“मन्त्रिपरिषद् कार्यालयले छानविन गरेर मात्र प्रस्ताव खुला गर्न निर्देशन दिएपछि तीनपटकसम्म मिति सारियो, छानविनका काम सकेर साउन २९ गते ११ बजे प्रस्ताव खुला गर्ने तयारी भइरहेको छ”–उहाँले भन्नुभयो ।
प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक÷लामा जेभी, सिआर ५ सिइसी÷स्वच्छन्द जेभी, कुमार÷सिएफइसी जेभी, जिआइइटीसी÷रमन जेभी, सिआइसिओ÷कालिका÷रसुवा जेभी छन् । जेसीजिआईसिसी÷आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको उहाँले बताउनुभयो ।
भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो ।
नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुर सहित ७२ मिटर अग्लो बन्नेछ ।
भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टमेट तयार भएको छ । यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुनः निर्माण कोषमा रु २४ करोडजम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताउनुभयो ।
धरहराले गोश्वारा हुलाक कार्यालयलाई जग्गासमेत खालि गर्ने भएको छ । हुलाकलाई भवन खालि गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ । धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने कामलाई जारी राखिने प्राधिकरणका सहसचिव मानन्धरले भन्नुभयो । (रासस)