११ फाल्गुन २०८२, सोमबार

रौतहटको गौरमा सद्भाव र्‍याली


रौतहटको गौरमा सद्भाव र्‍याली

चन्द्रपुर, रौतहट । रौतहटको गौरमा आज बिहान सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा आज सद्भाव र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ः३० बजेदेखि कर्फ्यू आदेश हटाएको जनाएको छ ।

कफ्र्यू हटेसँगै स्थानीयवासीको दैनिकी क्रमशः सामान्य बन्दै गएको छ । बजार, यातायात तथा शैक्षिक संस्था सञ्चालनतर्फ उन्मुख भएका छन् । सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले र्‍याली निकालिएको हो । गौर नगरपालिका–६ स्थित सव्गढाहाबाट सुरु भएको र्‍यालीले नगरका सपगढा गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो ।

र्‍यालीमा हिन्दू तथा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए । सद्भाव र्यालिमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग सहयोग गर्न आग्रह गरे ।

प्रशासनले कुनै पनि प्रकारका अफवाह र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई सचेत गराएको छ । कर्फ्यू हटाइएपछि गौर क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !