काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालले ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गरेको छ । उक्त संस्थाको आज शनिबार भएको आठौँ वार्षिक साधारणसभाको अवसरमा ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गरिएको हो ।
यस संस्थाका अध्यक्ष एवं अधिवक्ता हरिचन्द्र भट्टराईले ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गरेका थिए । यस अवार्डबाट कञ्चनजङ्घा हिमाल र यसको जलाधार क्षेत्रको प्रचार-प्रसार गर्ने र त्यस क्षेत्रमा अद्वितीय योगदान पुर्याउनुहुने व्यक्ति वा संघ-संस्थालाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएर प्रत्येक वर्ष हुने संस्थाको बार्षिक साधारण सभाको अवसरमा बढीमा नगद ५० हजार, मेडल र प्रशंशापत्र प्रदान गरिने छ ।
उक्त अवार्डको लागि नगद ८ लाखको न्युनतम अक्षयकोष स्थापना गरेर सोको ब्याजले प्रत्येक वर्ष अवार्ड प्रदान गरिने छ । सो अवार्डको लागि आज घोषणाकै दिन लगभग ४ लाख जति प्रतिबद्धता व्यक्त भएको छ भने कोहीले आजै नगद समेत उक्त अवार्डको लागि प्रदान गरेका थिए । आज उपस्थित महानुभावहरुले जनाएको प्रतिबद्धताबाट उत्साहित भएको संस्थाका अध्यक्ष भट्टराईले नेपालपत्रलाई बताए ।
सिरिजङ्गा सरोकार समाजको केन्द्रीय कार्यसमिति गरेको निर्णयअनुसार कञ्चनजङ्घा हिमालको रेञ्जभित्रको क्षेत्रमा पर्यटकीय, धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, विकास, खोज तथा अनुसन्धानको क्षेत्रमा योगदान गर्ने एक जना नेपाली वा विदेशी व्यक्ति वा एक संघ-संस्थालाई छनौट गरी वार्षिक रुपमा सो अवार्ड आगामी वर्षको वार्षिक साधारणसभादेखि प्रदान गर्न शुरु गरिने छ ।

विश्चको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कंचनजङ्घाको काखमा रहेको सिरिजंघा गाउँपालिकाका ८ वटा वडाहरु सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामंङखे, खेवाङ र याम्फुदिनमा जन्मेर काठमाडौँ कर्मथलो बनाएका सिरिजंघाबासीहरुलाई एकत्रित बनाउने उद्धेश्यले “सिरिजंघाको शान, मान, सवैको सम्मान, सुन्दर समुन्नत, भविष्य हाम्रो अभियान’ भन्ने नाराका साथ यो संस्थाको स्थापना गरिएको हो ।
समाजको वार्षिक साधारणसभामा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराई, विशिष्ट अतिथि पूर्वमन्त्री मणि लामा, विशेष अतिथि राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, अतिथि डा. केदार दाहाल, पूर्व शशत्र प्रहरी अतिरिक्त महानिरिक्षक चन्द्रप्रसाद गौतम, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन, सिरिजंघा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावो, सिरिजंघा गाउँपालिकाका पूर्वअध्यक्ष टिका गुरुङ, ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बल बहादुर तामाङ, ताप्लेजुङ समाजका अध्यक्ष रमेश बराल लगायतका व्यक्तित्वहरु उपस्थिति रहनुका साथै आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रमको आयोजना सामाजिक विकास समाजको सभाहल अनामनगर काठमाडौँमा भएको थियो । समाजका अध्यक्ष अधिवक्ता भट्टराईबाट आजीवन सदस्य बन्ने विभिन्न महानुभावहरुलाई कार्यक्रमलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।
यस कार्यक्रममा विगत झै माघेसंक्रान्तिको उपलक्ष्यमा सेल रोटी, घरतरुल, सिमल तरुल, तील लड्डु, अचार, आलु फ्राई लगायतका स्थानीय परिकारहरुको खानपिन गरी शुभकामना आदान-प्रदान समेत गरिएको थियो ।












