१५ बैशाख २०८१, शनिबार

नेपालमा डेढ लाख घर जोखिममा:- ‘इसिमोड’ प्रतिवेदन


nepalies risk house

असार १२, २०७३- भूकम्पबाट प्रभावित पाँच जिल्लाका डेढ लाख घर पहिरोको जोखिममा रहेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विशेषज्ञ टोलीको अध्ययनमा धादिङ, दोलखा, गोरखा, रसुवा र सिन्धुपाल्चोकका १ लाख ५५ हजार २ वटा घर पहिरो र डेभ्रिजका उच्च जोखिममा रहेको देखिएको हो । ती जिल्लाका २ लाख ६२ हजार ५ सय ११ घरमध्ये करिब डेढ लाख घर जुनसुकै बेला पहिरो र ‘डेभ्रिज’मा पर्ने निष्कर्ष इसिमोडको छ ।

अध्ययनमा विशेषज्ञहरू अरुणभक्त श्रेष्ठ, समजवलरत्न वज्राचार्य, प्रा.डा.नरेन्द्र खनाल र युनिभर्सिटी अफ एरिजोनाका जेफ्री एस कार्गेललगायत सहभागी थिए । अध्ययन प्रतिवेदनमा ‘ती पाँच जिल्लाका ५१ देखि ७२ प्रतिशत गाविस पहिरो, डेभ्रिज र चट्टानी पहिरोको उच्च जोखिममा रहेको’ उल्लेख छ ।

अध्ययनअनुसार धादिङको रि, दोलखाको गौरीशंकर, गोरखाको काशीगाउँ, केरौंजा, लाप्राक र लापु, रसुवाको लाङटाङ, गोलजुङ, डाँडागाउँ तथा सिन्धुपाल्चोकको भोताङ, धुस्कुन, राम्चे, तातोपानी, अत्तरपुर, गुन्सा, महांकाल र थाकनी गाविसका ५० प्रतिशतभन्दा बढी घर धेरै जोखिममा छन् । ती गाविसमा भीमकाय पहिरो जाने तथा नदीसमेत थुनिन सक्ने आकलन गरिएको छ ।

पहिरोले मानव बस्तीसँगै वनक्षेत्र, झाडी, बुट्यान, खेतीयोग्य जमिन, बाटो, सडक, नदी/खोला र जलविद्युत् केन्द्र विनाश गरेको र अझै गर्न सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । भूकम्पपछि इसिमोडको अध्ययनले प्रभावित १७ जिल्लामा ५ हजार १ सय ५९ वटा पहिरो पहिचान गरेको छ । तीमध्ये केही ठूला पहिरा छन् ।

भूकम्पपछि विभिन्न जिल्लामा भीमकाय पहिरो आएको र तिनबाट जतिबेला पनि मानव बस्ती जोखिममा पर्न सक्ने अध्ययनले देखाएको छ ।

धादिङमा गोल्छिना र झार्लाङ, दोलखामा मैलुङ, गोरखामा कुलगाउँ, रामेछापमा घ्याप्चे, रसुवामा राम्चे, सिन्धुपाल्चोकको मार्मिङमा पहिरो आएका छन् । तिनले यस वर्षको मनसुनमा ठूलो क्षति निम्त्याउन सक्ने विशेषज्ञहरू बताउँछन् । भूकम्पले निम्त्याएको पहिरो, डेभ्रिज र चट्टानबाट हाइड्रोपावर क्षेत्रमा पारेको असरसमेत अध्ययन गरिएको छ ।

जसअनुसार धादिङको आँखुखोला, सिन्धुपाल्चोकका बराम्ची खोला, भैरव कुण्ड, माथिल्लो भोटेकोसी, तल्लो चाकु, सुनकोसी, मध्य चाकु, सानिमा, माथिल्लो चाकु र माथिल्लो हाँडीखोला तथा लमजुङको राधिखोला, स्युरीखोला र रसुवाको मैलुङखोला जलविद्युत् आयोजना उच्च जोखिममा परेको अध्ययनको निष्कर्ष छ । ती आयोजनामा जतिबेला पनि पहिरो, डेभ्रिज र चट्टान आउन सक्ने अध्ययनको निष्कर्ष छ ।

भूकम्पपछि दोलखामा १ सय १, गोरखामा ६०, ललितपुरमा २४, नुवाकोटमा ९५, रसुवामा ७१ र सिन्धुपाल्चोकमा १ सय ५ सहित जम्मा ४ सय ५६ किलोमिटर सडक पहिरोले क्षतिग्रस्त भएकोसमेत उल्लेख छ । मनसुनको अवधिमा अझै अन्य प्रभावित जिल्लाको सडकसमेत पहिरोले प्रभावित हुन सक्ने विज्ञहरूको भनाइ छ ।

भूकम्पपछि मस्र्याङदीको दोना खोला, बुढीगण्डकीको तोमखोला, मनास्लुको ल्हो बजार पहिरोबाट थुनिएका थिए । फेरि पनि ती ठाउँमा पहिरो जान सक्ने र नदी थुनिन सक्ने औंल्याइएको छ । अध्ययनमा संलग्न त्रिविको भूगोल विभागका प्राध्यापक डा.नरेन्द्र खनालले ९९ प्रतिशत पहिरो मनसुनमा जाने भएकाले खतरा अझै रहेको बताए ।

‘भूकम्पले हल्लाएको पहाड खस्ने सम्भावना अत्यधिक छ,’ उनले शनिबार कान्तिपुरलाई भने, ‘भारी वर्षा भयो भने सानो पहिरोले ठूलो रूप लिने खतरा छ र पहाडै झरेर खोला थुनिने सम्भावना पनि छ ।’

गत वर्षको मनसुनमा औसतभन्दा अत्यधिक न्यून वर्षा भएकाले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले राहत महसुस गरेका थिए । यही कारण पहिरो धेरै गएन । मौसमविद्ले यो वर्षको मनसुनमा नेपालसहित दक्षिण एसियामै अघिल्लो वर्षभन्दा अधिक वर्षा हुने अनुमान गरेका छन् । भारी वर्षाका कारण दुई वर्षअघि जुरे र एक वर्षअघि म्याग्दीमा गएको जस्तो पहिरोले नदी थुनिन सक्ने विशेषज्ञहरूले औंल्याएका छन् ।

खनालले भने, त्यसैले विज्ञहरूले प्रभावित क्षेत्रमा अनुगमन प्रभावकारी बनाउन सुझाएका छन्, ‘प्राधिकरणले घर बनाउन पैसा मात्रै दिएर पुग्दैन ती क्षेत्रमा अनुगमनसमेत आवश्यक छ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !