८ फाल्गुन २०८२, शुक्रबार

रौतहटमा रहेको मदिरा उद्योग ज्योति डिस्टिलरीमा विस्फोट : १ जनाको मृत्यु, ६ जना घाइते


मदिरा उद्योग

रौतहट । रौतहटमा रहेको मदिरा उद्योगमा विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रौतहटको कटहरीया नगरपालिका-९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो ।

प्रहरीका अनुसार विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो । विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ । घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सम्भावित थप क्षति हुन नदिन सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिँदै सुरक्षा व्यवस्था कडा बनाएका छन्।स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको आरोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !