काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ । संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाएको हो ।
उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा पनि जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो । महान्यायाधिवक्ता भएपछि भण्डारीले पदमा रहँदासम्म सदस्यता स्थगनका लागि निवेदन पनि दिएकी थिइन् ।
भण्डारी विवादमा तानिएपछि ट्रान्परेन्सीले उनलाई राजीनामा दिन आग्रह गरेको थियो । तर, विवादित भएर पनि पदमै बसेपछि उनको सदस्यता स्थगन नभएर निलम्बन गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले बताएको छ ।
विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्चरको रुपमा टीआई नेपाल सक्रिय छ । बरिष्ठ अधिवक्ता समेत रहेकी भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् भने यसअघि पटकपटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।













