काठमाडौँ । नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल-नर्वेको सहकार्य निरन्तर हुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा राजदूत म्योसले दुई देशबीच शैक्षिक विकासमा हुने सहकार्यले थप उचाइ प्राप्त गर्ने बताए।
उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयको समावेशी शिक्षा प्रवर्द्धनमा सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा सहयोगलाई निरन्तरता दिनेछौँ ।’
शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रूपमा परिचित नर्वेली राजदूत म्योससहित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सम्बद्ध टोलीले मध्यपश्चिम विश्वविद्यालय परिवारसँग पहिलोपटक अन्तरसंवाद गर्न पाउँदा खुसी लागेको बताएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतमले उच्च शिक्षा विकासका लागि अनुसन्धान तथा क्षमता विकासमा नर्वेजियन कार्यक्रम (नोरहेड–दोस्रो) अन्तर्गत सञ्चालित बिल्डिङ इन्क्लुसिभ एजुकेसन इन नेपाल (बीआइईपिएन) परियोजनाबाट प्राप्त उपलब्धि र प्रभावप्रति उच्च प्रशंसा व्यक्त गरे।













