म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् ।
तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् । पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्किएका छन्। तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन् ।
“छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,” बलबहादुरले भने, “बजारमा एउटै घरको ओल्लो, पल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन । गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जीवितै छ । छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटेल व्यवसायमा लगाएको छु ।”
बलबहादुरले स्वाँतमा पिरामिड होटेल सुरु गरेका छन् । उनले होटेल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु भएको हो । दुई रोपनी पाखो सम्माएर होटेलका संरचना तयार पार्न रु एक करोड ८० लाख खर्चेको बलबहादुरले बताए । “छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन,” उनले भने, “होटेले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो ।”
गत हप्तादेखि सञ्चालन भएको पिरामिडहोटेलको संरचना म्याग्दीका अन्य होटेलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने पिरामिडशैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन् । चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाताको छानोमा नथुप्रियोस् भनेर पिरामिडशैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाई छ ।













