काठमाडौं । भारी वर्षाको सम्भावना देखिएपछि प्रधानमन्त्रीको स्वकीय सचिवालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । आज शुक्रबार प्रधानमन्त्रीको सचिवालयले विपद् पूर्वतयारी र उद्धारका लागि विशेष पहल गर्न सबै निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ ।
असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको चेतावनी दिइएको छ ।
विभागले नारायणी, वाग्मती, कमला र कोसी नदी एवं तिनका सहायक नदीहरूमा उल्लेख्यरूपमा पानीको सतह बढेर खतरा तहको आसपासमा पुग्ने सम्भावना रहेको जनाएको छ । मनसुनी वर्षाले मधेस प्रदेशका महाभारत र चुरे भई बग्ने ससाना नदीनालामा पनि आकस्मिक खहरे, भेल, बाढी आउन सक्ने सम्भावना देखिएको छ ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन एवं कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्ला भएर बग्ने ससाना नदीहरूमा पनि आकस्मिकरूपले पानीको सतह बढ्ने अनुमान छ ।













