काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन्।
नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन्।
उनले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु। नेपालगञ्ज-दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ। यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र अन्तरआबद्धता जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु।’
उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्कलगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन्।
यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा राणाले नेपालगञ्जमा पनि होटललगायतका आवश्यक पर्यटन पूर्वाधारहरु बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले आज मन्त्री डा राणालाई भेटेर सो आग्रह गरेको हो।













