काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ । यसअघि पाँच वर्ष लाइसेन्सको अवधि रहेकोमा अवदेखि लाइसेन्सको अवधि १० वर्ष कायम भएको हो ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाइएको हो । यो संशोधनसँगै अब नयाँ जारी हुने र नवीकरण हुने सबै प्रकारका सवारी चालक अनुमतिपत्रको अवधि १० वर्षको हुनेछ ।
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो व्यवस्था कानुनी रूपमा लागु भएको छ । यसले सवारी चालकहरूलाई हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट राहत दिनेछ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५६ मा रहेको नवीकरण सम्बन्धी व्यवस्थामा ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई ‘१० वर्षसम्मको’ भनेर परिवर्तन गरिएको छ ।












