३ फाल्गुन २०८२, आइतबार

गुण्डानाइके चक्रे मिलनसहित ४७ जना काठमाडौँबाट पक्राउ


चक्रे मिलन

काठमाडौं । गुण्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । चक्रे मिलनसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । चक्रे यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरू ४७ जनालाई पक्राउ गरेको हो । विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

आपराधिक गतिविधि बढाउने तथा नागरिक र व्यवसायीलाई तर्साउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

प्रहरीले साउन १५ गते बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो ।

अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको टोलीले राति संयुक्त अपरेसन चलाएका थिए । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !