काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्यहरू सम्पन्न भएका छन्। मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा सञ्चालित यी आयोजनाले उपत्यकावासीलाई स्वच्छ र समानुपातिक रूपमा खानेपानी वितरण गर्ने उद्देश्य राखेका थिए।
पिआइडीका प्रमुख लक्ष्मीराज उपाध्यायका अनुसार, यस आयोजनाको मुख्य लक्ष्य काठमाडौँ उपत्यकाका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवं सफा खानेपानी घरघरमा पुर्याउनु थियो। आयोजनाअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा कुल ७४ हजार ५०० घनमिटर पानी भण्डारण क्षमताका दश नयाँ पोखरी निर्माण गरिएका छन्।
सम्पन्न भएका प्रमुख कार्यहरू
आयोजनाको पहिलो चरणमा विभिन्न महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्:
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ पानीपोखरी निर्माण।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि विभिन्न स्थानमा रहेका पोखरीसम्म थोक वितरण प्रणाली निर्माण।
उपभोक्ताका धारामा पानी पुर्याउन खानेपानी वितरण प्रणाली निर्माण।
दुई फोहोरपानी प्रशोधन केन्द्रको निर्माण।
पिआइडीका प्रवक्ता ई. विकेश बधानथाछेका अनुसार, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पोखरीमा थोक रूपमा खानेपानी पठाउन प्रतिदिन २२ करोड लिटर क्षमताका करिब ७७ किलोमिटर नयाँ ‘थोक वितरण प्रणाली’ निर्माण गरिएको छ। पोखरीबाट उपत्यकावासीका धारामा खानेपानी पुर्याउन कुल एक हजार १० किलोमिटर ‘खानेपानी वितरण प्रणाली’ निर्माण सम्पन्न भएको छ। नयाँ पाइपलाइनबाट खानेपानी वितरण गर्दा चुहावटको समस्या खासै नदेखिएको जनाइएको छ।
नेपाल सरकारको आफ्नै स्रोतबाट स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही, मण्डिखाटार, कपन, चाबहिल र बौद्धको दक्षिणी भेगलगायतका क्षेत्रमा थप करिब ८०० किलोमिटर खानेपानी वितरण प्रणाली निर्माण गरिएको प्रमुख उपाध्यायले बताए। उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट स्काडा प्रणालीमार्फत हाल स्वचालित रूपमा सबै पोखरीको व्यवस्थापन र वितरण प्रणाली सञ्चालनको कार्य भइरहेको जानकारी दिए।
स्काडा प्रणालीमार्फत सबै पोखरीमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्थासमेत गरिएको छ।
आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौँ, ललितपुर र भक्तपुरमा निर्माण थालिएका फोहोरपानी प्रशोधन केन्द्रमध्ये दुईवटा फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएका छन्। काठमाडौँको गुहेश्वरीमा प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको ‘गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ। पशुपति क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रबाट आउने फोहोरपानी प्रशोधन गरी सफा र स्वच्छ पानी बागमती नदीमा प्रवाह गर्ने उद्देश्यले यो केन्द्र निर्माण गरिएको निर्देशनालयले जनाएको छ।












