काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको हो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ । बाढीमा बेपत्ता भएका तीनजना प्रहरी, नौजना सर्वसाधारण र ६ जना चिनियाँ नागरिकको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
बेपत्ता भएका तीनजना प्रहरीमा रसुवामा दरबन्दी भएर इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत थिए । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका–९ का प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।
बेपत्ता भएका ६ जना चिनियाँ नागरिकमा यू यी, ली ह्वासिङ, याङ चुआन, यू हैहाङ, यू सिओ क्यु र जोउ योङ छन् ।
बेपत्ता भएका अन्य नेपाली नागरिकमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू छन् । यस्तै, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका सवारी चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।












