काठमाडौँ । भोजपुर जिल्लामा एक ज्वाइँले पत्नीसहित ससुराली पक्षका एकै परिवारका ४ जनाको सामूहिक हत्या गरेका छन् । भोजपुरको रामप्रसाद राई गाँउपालिका–२ धोद्लेखानीमा गएराति चार जनाको सामूहिक निर्मम हत्या भएको हो ।
भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरि हत्या गरेको जनाएको छ ।
पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारकाे लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपर ल्याउने तयारी भएको छ भने घटनाका कारण घरायसी द्वन्द्व हुन सक्ने प्रहरीको आँकलन छ ।













