३ फाल्गुन २०८२, आइतबार

५२ संवैधानिक पदाधिकारी नियुक्ति मुद्दाको फैसला आज हुँदै


संवैधानिक इजलास

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय आज सुनाउने तयारी गरेको छ । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वयं न्याय परिषद् सदस्यसहित ५२ जना संवैधानिक आयोग, निकायका पदाधिकारीको नियुक्ति खारेजीको माग गरिएको मुद्दाको फैसला आज हुन लागेको हो ।

सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ यही जेठ २ गते सकेको हो । यसअघि जेठ २८ मा फैसलाको मिति तोकिएकोमा न्यायाधीशहरुको राय नमिलेका कारण आजलाई सारिएको थियो ।

करिब ५ वर्षअघिको नियुक्तिविरुद्धको मुद्दा चलिरहेका बेला यसबीचमा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुख नै खाली भइसकेका छन्, भने धेरै सदस्य पनि उमेर हद र अन्य कारणले अवकाशमा गइसकेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ विना ५२ संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !