८ फाल्गुन २०८२, शुक्रबार

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट


गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट

तानसेन, पाल्पा । गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा आइतबार सम्पन्न कार्यक्रममा सहभागीहरुले गण्डकी सभ्यता बचाउनुपर्नेमा जोड दिए ।

पाल्पा, स्याङजा, तनहुँ र नवलपुर पूर्वनवलपरासीका सरोकारवालाले सरकारले कालीगण्डकी डाइभर्सन परियोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, उपल्लो कालीगण्डकी आयोजना जस्ता परियोजना अघि बढाउँदा तल्लो तटीय क्षेत्रमा जल सङ्कट निम्तिने र सम्पदा क्षेत्रको विनाश हुने भएकाले त्यसलाई जोगाउन प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।

उनीहरूले कालीगण्डकीको महत्त्वलाई विश्व सामु चिनाउन आवश्यक रहेको उल्लेख गर्दै गण्डकी सभ्यताको संरक्षणका लागि धार्मिक पर्यटन प्रवर्द्धन तथा नदीको पानीको तल्लो तटिय क्षेत्रमा उच्चतम सदुपयोगको योजनाअघि सार्नुपर्ने भनाइ राखे ।

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पाल्पाका विभिन्न स्थानमा कालीगण्डकी नदीको सदुपयोगका लागि योजना अघि बढाएको उल्लेख गरे । श्रेष्ठले कालीगण्डकीको तल्लो तटिय क्षेत्रका जनता डाईभर्सन हुनुहुँदैन भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘कालीगण्डकी डाइभर्सनको विषय लुम्बिनी र गण्डकी प्रदेशको साझा सवाल हो केन्द्रमा बहस र छलफल आवश्यक छ ।’

कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानका संयोजक एवं पूर्व सांसद शंकरप्रसाद पाण्डेले कालीगण्डकीलाई आमा मानेर बसेका स्थानीयको सहमतिविना कहीँ लैजान नमिल्ने बताए । कालीगण्डकी गिट्टी बालुवा खोल्ने कुरामा अदालतले डाइभर्सन आयोजनाअघि बढाउन फैसला गरे पनि स्थानीय सरकारसँग समन्वय नगरिकन आयोजना अघि बढ्न नसक्ने उनको जिकिर छ ।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले डाइभर्सन रोक्नका लागि कालीगण्डकी नदीको धार्मिक तथा सांस्कृतिक महिमा जागरण आवश्यक रहेको बताए । उनले भने, ‘पहिलो अधिकार तटिय क्षेत्रको हो । त्यसैले जनगरण अभियान सञ्चालन गर्नु आवश्यक छ ।’

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी डाइभर्सन योजनाअघि बढ्न नदिनका लागि तल्लो तटिय क्षेत्रका स्थानीयहरु जागरुक हुन आवश्यक रहेको बताए । डाइभर्सनले कालीगण्डकी सभ्यतासँगै पारिस्थितिक पद्धतिमा असर पर्ने भएकाले यो चिन्ताको विषय रहेको उनको भनाइ छ ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कालीगण्डकीको महत्त्वलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताए । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले तल्लो तटिय क्षेत्रका पानीका स्रोतहरू कालीगण्डकी नदीमा निर्भर रहेको बताउँदै डाइभर्सन रोक्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !