दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार भइरहेको हुन्छ र यो सबैभन्दा कमजोर हुन्छ । हाम्रो मुखभित्र हुने सात सयदेखि नौ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस’ ।
हामीले खाएका पदार्थहरू जब दाँत र गिजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरूबीचको कापमा दन्त लेउका रूपमा अड्केर बस्छ । स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले ‘इनामेल’ खिइन थाल्छ । खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ । एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भागहरू फोड्न गाह्रो हुँदैन । इनामेल फोडेसँगै ब्याक्टेरियाले भित्र थप खोल्दै जान्छ । जब दाँतमा खोल्सिँदै जान्छ, खानेकुरा त्यहीँ गएर अड्किन्छ र अड्किएपछि थप एसिड उत्पादन हुन थाल्छ । झन्–झन् दाँत खोक्रिँदै जान्छ ।
विशेष गरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दाँतमा किरा लाग्छ भन्ने भ्रम छ । गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ, यदि त्यो दाँतमा रह्यो भने । तर, के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरू टाँसिने भएकाले छिटो खान मद्दत हुने हो । तर, चिनीपानी, महजस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ । खानेकुरा दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने हो ।
बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने । दाँत माझ्दा चपाउने भागमा पनि माझ्ने । बच्चालाई सुतेर खानेकुरा वा दूध खान नदिने । त्यसरी दिँदा खानेकुरा मुखभरि रहन्छ र दाँतमा एसिड उत्पादन तीव्र हुन्छ । कोल्डड्रिंक्स खाँदा सकेसम्म पाइपको प्रयोग गरौं । बोतलबाट वा गिलासबाट खाँदा दाँतको इनामेल बिगार्छ, तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुखकुल्ला गर्ने । हल्का कालो वा पहेंलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।