
काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । प्रहरीले रसुवाबाट ठूलो परिमाणमा सुन आज बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको बुझिएको हो । रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सुन बरामद गरिएको प्रहरी अधिकारीले जनाएका छन् ।
बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले बरामद गरेको हो । प्रहरीले चालकको परिचय खुलाएको छैन । प्रहरीले उक्त घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।
अहिले सुन जोख्ने काम भइरहेको बताइएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढेको छ ।