
काठमाडौँ । गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरिएको छ । राजावादी प्रदर्शन क्रममा गत १५ गते भएको हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड पराजुली सम्मानित भएका हुन् ।
आज बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले २२ वर्षदेखि भाटभटेनीमा कार्यरत सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।
कार्यक्रममा चैत १५ गते लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ । सुरक्षा गार्ड पराजुलीले लुटेराहरूलाई पिटेर लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।