काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
आज बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको हो । उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ ।
मानव बेचबिखन ब्युरोमा उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ । प्रहरीले डिपोर्ट भएकाहरुबाट मानव तस्करीमा संलग्नहरुको नेक्सस खुल्ने विश्वास लिएको छ ।
अमेरिकाबाट निकालिएका ८ जना नेपालीहरुलाई लिएर आएको अमेरिकी चार्टर विमान आज बिहान काठमाडौंमा अवतरण भएको थियो । अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम आज बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण भएको थियो ।
आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको डोनाल्ड ट्रम्प प्रशासनले ८ नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको हो । क्यानका एक उच्च अधिकारीका अनुसार सात जना पुरुष र एक जना महिला लिएर उक्त विमान आएको हो ।
यो पनि पढ्नुहोस्
अमेरिकाबाट निकालिएका ८ जना नेपाली लिएर आएको चार्टर विमान काठमाडौंमा अवतरण












