
काठमाडौँ । राजधानी काठमाडौँको टोखामा गोली चलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज आइतबार गोली चलाएको हो । प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।
गोली प्रहार गरेर गुड्ड पटेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पटेल लाल मोहम्मद हत्या प्रकरणमा संलग्न आरोपी हुन्।
२०७९ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । दुईजना सुटरले गोली हानेर भक्तपुरको गोठाटारमा २०७९ असोज ३ मा लाल मोहम्मदको हत्या भएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।
प्रहरीले तीन राउन्ड गोली चलाएकोमा एक राउन्ड गोली पक्राउ परेका पटेललाई लागेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी बस्नेतका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।