६ फाल्गुन २०८२, बुधबार

बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप, सिंहदरबारका डीएसपी घाइते


गुठीपीडित

काठमाडौं । काठमाडौँमा गुठीपीडित र प्रहरीवीच झडप हुँदा डीएसपी घाइते भएका छन् । आज आइतबार दिउँसो नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीवीच झडप हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका हुन् ।

झडपमा परी प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । फिल्डमा खटिएको क्रममा टाउको फुटेपछि उनलाई नजिकैको सिभिल अस्पतालको इमरजेन्सीमा लगेर उपचार गर्न लगिएको छ ।

त्यस्तै दोहोरो झडपमा केही प्रदर्शनकारी पनि घाइते भएका छन् । आफूहरुको मागप्रति सरकार अनुदार देखिएको भन्दै पछिल्लो समय गुठीका किसान काठमाडौँकेन्द्रित आन्दोलनमा छन् ।

आइतबार पनि आन्दोलनका लागि बानेश्वर पुगेका उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । सोही क्रममा झडप भएको हो । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ ।

सरकारले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !