
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शुक्रबार बिहानै २ बजेर ५१ मिनेट जाँदा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौँमा भुकम्प गएपछि थाहा पाएका केही मानिसहरु घर बाहिर निस्केका थिए । निन्द्रामा मस्त काठमाडौंवासी ओछ्यानमै रहेको समयमा हल्लाएपछि उठेका हुन् ।
शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो । यद्यपि भूकम्पले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । देशको पूर्वी जिल्लाहरु ताप्लेजुङ्ग र पाँचथरसम्म यो शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको त्यहाँका स्थानीयबासीले नेपालपत्रलाई बताएका छन् ।