५ फाल्गुन २०८२, मंगलबार

सेनाले भन्यो- अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती सिर्जना भयो


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती सिर्जना भएको बताएको छ । सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, शक्ति राष्ट्रले लिइरहेका नयाँ नीतिको नेपाल प्रभावलाई सुक्ष्म रुपमा हेरिरहेको समेत बताएको छ ।

अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार र शुक्रवार आयोजित पृतनापति समन्वयात्मक बैठकबाट सो निष्कर्ष निकालिएको सैनिक अधिकारीहरू बताउँछन् ।

पृतनापति समन्वयात्मक बैठकपछि सेनाले पत्रकार सम्मेलन गरेर अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका उपरथी प्रेमध्वज अधिकारीले भू–राजनीतिको असर नेपालमा पनि पर्ने र परिरहेको बताए ।

पछिल्लो समय अमेरिका र युक्रेनको बिचमा देखा परेको उतार–चढावले नयाँ प्रकारका सुरक्षा चुनौतीहरू सिर्जना हुनसक्ने सेनाको निष्कर्ष छ । सैनिक प्रवक्ता (सहायकरथी) गौरवकुमार केसीले अन्तर्राष्ट्रिय गतिविधि बुझ्ने र प्रभावबारे अध्ययन गरिरहेका बताएका छन् ।

फागुन ८ मा पृतनापति समन्वयात्मक बैठक उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पनि विश्वको विभिन्न स्थानमा चलिरहेको द्वन्द्वले नेपालमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताए । बैठकमा सैनिक विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू तथा पृतनापतिहरू सहभागी थिए ।

ठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्व सुरक्षा परिस्थिति बहु आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण भएको बताएका थिए । सिग्देलले भविष्यका सुरक्षा चुनौतीहरू सामान गर्न विभिन्न रणनीतिक तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउनुपर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !