काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सबैभन्दा सुन्दरपक्ष विविधतामा एकता रहेको बताएका छन् ।
आज स्वयम्भूस्थित महामहिम श्री गुरुङ योङ्जीन रिन्पोछेको १००औँ जन्मोत्सव तथा ट्रितेन नोर्बुचे युङ्डुङ बोन उच्च शिक्षालयको भवन शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बौद्ध धर्मावलम्बीको महत्वबारे धारणा राखे ।
उनले विभिन्न जातजाति, भाषाभाषी, धर्म समुदाय मिलेर नेपालले पूर्णता पाएको बताउँदै हिमाली भेगका समस्या राज्यले अझै पहिचान गर्न जरुरी रहेको बताए ।
मन्त्री गुरुङले हिमाली भेगको समस्या आफू र सरकारसमक्ष राख्न आग्रह गरे । नेपालमा लामो सङ्घर्ष पछि प्राप्त सङ्घीय राज्यव्यवस्थाले धर्मनिरपेक्षताको सम्मान गरेको बताउँदै हरेक सम्प्रदायले यसको भरपुर लाभ उठाउन आग्रह गरे ।
“सङ्घीयता प्राप्त नभएको भए हामी खुलेर आफ्नो धर्म र समुदायको प्रचार गर्न सक्दैन थियौँ”, मन्त्री गुरुङले भने, “सबैले ल्याएको सङ्घीयताका राम्रा पक्षलाई सदुपयोग गर्नुपर्छ ।”












