काठमाडौँ । पाथीभरा केबलकार निर्माण तत्कालका लागि स्थगित हुने भएको छ । सरकार र आन्दोलनरत पक्षबीच आज मंगलबार भएको वार्तामा तत्कालका लागि निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो ।
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षवीच ६ बुँदे सहमति भएको छ । पाथीभरा केबलकारको स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।
ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विरोध गर्दै आएको थियो ।
यस विषयमा द्वन्द्व समेत भइरहेको अवस्थामा गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिवीच भएको सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।
यस्तै दोस्रो बुँदामा सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने तथा तेस्रो बुँदामा माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ ।
यस्तै चौथो बुँदामा आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ।
यस्तै सहमतिको पाँचौँ बुँदामा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने तथा छैटौँ बुँदामा मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे पुनः वार्तामा बस्ने सहमति भएको छ ।
सहमतिपत्रमा वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वता सिंगक (सरु) सरकारको तर्फबाट सहसचिव प्रेम प्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस्तो छ हेर्नुहोस् सहमति













