काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिच्किचाईकन कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरेका थिए ।
नेपाल निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागीय समितिको कार्यक्रममा मन्त्री दाहालले शीघ्र सेवा र तीव्र विकासको मर्मलाई आत्मसात् गर्न आग्रह गरेका थिए । ‘कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई नभुली कार्य सम्पादन गर्नुपर्छ,’ उनले भने ।
सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले थुप्रै काम गरेको मन्त्री दाहालको भनाइ थियो । काठमाडौं तराई–मधेश द्रुत मार्गमा पर्ने धेद्रे सुरुङ तथा सिद्धबाबाको सुरुङ छिचोलिएको, नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि ‘मोडालिटी’ तयार भइरहेको, मुग्लिन–पोखरा तथा, नारायणघाट–बुटवल सडक निर्माणले गति लिएको, केही प्रमुख विधेयक संसद्को यही हिउँदे अधिवेशनमा पेस हुने अवस्थामा पुगेको उनले उल्लेख गरेका थिए ।
बिपी राजमार्गसहितका सडक बाढी–पहिरोले क्षत–विक्षत गरे पनि तुरुन्त यातायात सञ्चालनको अवस्थामा ल्याइएको, बेलिब्रिज धमाधम जडान भएको र भइरहेका भन्दै मन्त्री दाहालले आगामी वर्षायाममा सहज रुपमा यातायात सञ्चालनको वातावरण बनाउन मन्त्रालय लागिपरेको उल्लेख गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कर्मचारी संगठन तथा ट्रेड युनियन सृजनशील हुन सके कार्य सम्पादन चाँडो र प्रभावकारी हुनसक्ने बताए । कर्मचारी अगुवाहरूले संसद्को आगामी अधिवेशनबाट संघीय निजामती सेवा ऐन पारित हुनुपर्नेमा जोड दिए ।












