५ माघ २०८१, शनिबार

देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व हो : मन्त्री गुरुङ


पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बताएका छन् । साथै उनले पिएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिए ।

साबिक नेपाल टेलिभिजनमा आज भएको पिएसबीको पूर्वारम्भ कार्यक्रममा उनले पिएसबी सबै वर्ग, क्षेत्र, भषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए । मन्त्री गुरुङले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पिएसबीलाई आग्रह गरे ।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभू गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गरे ।

मन्त्री गुरुङले विकट ग्रामीण भेगका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताए । लोकतन्त्रको विगुल फुकेको रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत पिएसबी प्रारुपमा आइपुग्दा यसको कार्यशैली समयानुकुल परिमार्जन गर्नुपर्छ भने । पिएसबीले सुशासनका लागि सरकारलाई झक्झक्याउनुपर्नेमा पनि उनले जोड दिए ।

बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उनले सुझाए । “अब दैलेखमा बस्ने राउटे देखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ”, सरकारका प्रवक्ता गुरुङले भने,“अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ ।” उनले जनतालाई सहि सूचता दिने र सरकारको तथ्यपक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !