१९ पुस २०८१, शुक्रबार

मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न आग्रह


meeting

१८ असार, काठमाडौँ । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गर्नुभयो ।

सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि आवेदन दिने समय तोकिएपनि रोपाइँलाइृ ध्यानमा राखेर एक महिना थप गर्नुपर्ने सुझाव दिनुभयो ।

सो आयोजनाको शेयरमा आवेदन दिने प्रक्रियालाई सरल बनाउन र लागतबारे अनुगमन गर्न माग गर्नुभयो ।

सांसद केदार सिग्देल सेती नदीको कटानले शुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा बढी व्यक्तिले विगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गर्नुभयो ।

सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा यही असार १३÷१४ गतेदेखि योङ कम्युनिष्ट लिगका कार्यकर्ताले स्थानीय तहमा बजेट विनियोजन गर्न नदिने भनी दिँदैआएको धम्कीप्रति सरकारको ध्यान आकृष्ट गर्नुभयो ।

सांसद भरतकुमार शाहले चिसो छिँडीमा अनशन बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले माइतीघर मण्डलाजस्ता स्थानमा धर्ना गर्न निषेध लगाइएकामा आपत्ति जनाउनुभयो ।

सांसद विमलप्रसाद श्रीवास्तवले मुआब्जा दिएर मात्र विकास निर्माणका काम शुुरु गर्न सुझाव दिनुभयो ।

सांसद प्रकाश रसाइलीले बर्खामा पानीले सडक जलमग्न भएकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भूमिप्रसाद त्रिपाठीले सडकमा जताततै बिग्रिएका सवारीसाधन राख्ने प्रवृत्ति देखापरेको बताउँदै कति वर्ष पुराना सवारी चलाउन पाउने हो त्यसबारे नीति ल्याउन माग गर्नुभयो ।

बोल्ने क्रम सकिए लगत्तै सभामुख कृष्णबहादुर महराले शून्य समय र विशेष समयमा उठेका महत्वपूर्ण विषयमा जवाफ दिन आफूले सम्बन्धित मन्त्रालयलाई जानकारी दिने प्रतिवद्धता सांसदहरुसमक्ष व्यक्त गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !