१२ श्रावण २०८१, शनिबार

दक्षिण एसिया संसारकै खतरनाक क्षेत्र


nuclear_blast

आणविक अस्त्रसज्जित भारत र पाकिस्तानबीचको शत्रुताले दुई दशकयता दक्षिणएसिया धर्तीकै सबैभन्दा खतरनाक भूखण्ड बनेको छ ।

दुई देशको सीमा काश्मिरमा तोपको एक झिल्को उछिट्टियो भने त्यसले सम्पूर्ण दक्षिण एसिया उजाड बनाइदिन सक्नेछ । भारत-पाकिस्तान सिमाना दुनियामै संवेदनशील छ । काश्मिरमा पडि्कने बन्दुकको गोलीले पारमाणविक युद्धसम्म पुग्न बेर लाग्दैन । दुई देशबीच विगतको सम्बन्ध शत्रुवत रहेको छ । यदि आणविक युद्ध भएमा पृथ्वीमै प्रलय आउने वैज्ञानिक बताउँछन् ।

अणुअस्त्रका कारण दशौं लाख भारतीय र पाकिस्तानी नागरिकको प्राण हरिने मात्र हैन मानवजीवनमै अकल्पनीय विपत्ति आइलाग्नेछ । अहिले भारत र पाकिस्तानबीच हतियारको होडबाजी तीब्र बनेको छ । यसले शीतयुद्धताका अमेरिका र सोभियत संघबीच भएको अस्त्रको प्रतिस्पर्धालाई पनि बिर्साइदिएको छ ।

आणविक युद्ध हुँदा दुई करोड मानिस तत्काल मर्नेछन् भने विषाक्त विकिरण प्रभावले विश्वभर डेड अर्ब मान्छे सखाप हुनेछन् । अन्य प्राणी कति नासिनेछन् त्यसको हिसाबै नहुने हालै प्रकाशित एक वैज्ञानिक जर्नलमा उल्लेख गरिएको छ ।

भारत पाक सम्बन्धका पचास वर्षमा तीनपटक लडाइँ भइसकेको छ । आपसी विवादका अनगिन्ती विषय थाती रहेका यी दुई देशबीच सधैं वाकयुद्ध चलिनै रहन्छ । भारतको पछिपछि पाकिस्तानले पनि काश्मिरी सीमाबाट पूर्वतर्फ मार हान्न चुस्त क्षेप्यास्त्र प्रणाली विकास गरिरहेको छ ।

पाकिस्तानी आणविक हतियारको कमजोर रेखदेख अर्को खतरा हो । त्यहाँ हतियार र पूर्जाहरु फरकफरक ठाउँमा भण्डार गरिन्छ । आवश्यक पर्दा मात्र देशको नेताको आदेशले यस्ता आणविक अस्त्र जोडजाड पारिने हो । यसरी ओसारपसार गर्दा कदाचित कुनै आवाराले अणुअस्त्र हात पार्यो भने सकियो । चरमपन्थीले पनि यस्तै चोरबाटो ढुकिरहेका हुन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !